गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डौ । भक्तपुरको गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र समितिले आजदेखि काम थालेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले शुक्रबार छानबिन समिति गठन गरेको हो । गृहमन्त्री लेखकले यसअघि घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिनुभएको थियो ।

बिहिबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–४ घर भई काठमाण्डौका कपन बस्दै आएका उत्तम कोइरालाको घटनास्थलमै ज्यान गएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

दुर्घटनालगत्तै स्थानीयवासीले असुरक्षित रूपमा ट्राफिक प्रहरीले गाडी जाँच गर्ने गरेको भन्दै विरोध प्रदर्शनसमेत गरेका थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search