पर्सा । नेपाल बीमा प्राधिकरणले गएको आर्थिक वर्षमा देशभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आर्थिक वर्ष २०७९र८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आर्थिक वर्ष २०८०र८१ मा विमाको पहुँचमा हुने जनसङ्ख्या ४३ दशमलव २७ प्रतिशतमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा मात्रै एक दशमलव ११ प्रतिशतले बीमाको पहुँचको दायरा खुम्चिएको प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिनुभयो । उहाँले बीमाको दायरा खुम्चिनुमा लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको सङ्कट प्रमुख कारण रहेको बताउनुभयो । लघुवित्त र सहकारीले नियमित रुपमा गर्दै आइरहेको बीमालाई निरन्तरता दिन नसक्दा झिनो प्रतिशतले पहुँच घटेको उहाँको भनाइ छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०र८१ मा कूल जीवनबीमा शुल्कमा भने वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७९र८० मा जीवनबीमा शुल्क एक खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ सङ्कलन भएको थियो ।
गएको आर्थिक वर्षमा एक खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ सङ्कलन भएको छ । कूल निर्जीवन बीमा शुल्क पनि दुई दशमलव ८० प्रतिशतले बढेको छ ।











