काठमाण्डौ । नारायणगढ–बुटवल सडक आयोजनाको कामका लागि तेस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत ५३ प्रतिशत मात्रै प्रगति भएको छ । २०७९ सालको साउनमा काम सक्ने गरी २०७५ सालको माघमा सम्झौता भए पनि अहिलेसम्म आधाभन्दा केही बढी मात्रै काम भएको हो ।
नारायणगढदेखि दाउन्नेसम्म एकतर्फी ३२ किलोमिटर सडक कालोपत्र भएको छ । तेस्रो पटक थपिएको म्याद अब दुई महिना मात्रै बाँकी छ । निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले पाएको हो ।
पटक पटक म्याद थप्दा पनि काम नसकेपछि आउँदो डिसेम्बर महिनापछि ठेक्का तोड्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । काम भइरहेका सडकमध्ये नारायणगढ–बुटवल खण्डमा काम कम भएकोले ठेक्का तोड्न लागेको उहाँको भनाइ छ ।
निर्माण थालेको सात वर्षमा पनि काम नहुँदा नारायणगढ–बुटवल सडकको यात्रा कष्टकर रहेको छ । सडक खण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक गाडीलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ ।











