चीनले मानिसहरूको भीडमा कार गुडाएर दर्जनौं व्यक्तिको ज्यान लिने चालकलाई मृत्युदण्ड दिएको छ । दक्षिणी चीनको एक रङ्गशालाबाहिर व्यायाम गरिरहेका मानिसहरूमाथि कार गुडाएर दर्जनौंको हत्या गर्ने चालकलाई मृत्युदण्ड दिइएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गएको नोभेम्बर ११ मा ६२ वर्षीय फान वेइकिउले झुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा कार गुडाउँदा ३५ जनाको ज्यान गएको थियो भने दर्जनौंभन्दा धेरै व्यक्ति घाइते भएका थिए ।
यसलाई चीनमा भएको एक दशकको सबैभन्दा घातक आक्रमण मानिन्छ । ती चालकको सम्बन्धविच्छेद भएको र सम्पत्तिको बाँडफाँटको विषयमा लामो समयदेखि विवाद रहेको खुलेको थियो ।
अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको एक महिनाभन्दा कम समयपछि आज मृत्युदण्ड दिइएको खबरमा उल्लेख छ । फानलाई सार्वजनिक सुरक्षालाई खतरामा पार्ने काम गरेकोमा दोषी पाइएको थियो, अदालतले उनको उद्देश्यलाई ‘अत्यन्तै घिनलाग्दो’ र ‘विशेषगरी क्रूर’ गतिविधिका रूपमा व्याख्या गरेको थियो ।











