“मकालु सन्देश” विशेषांक – ०१

मकालु गाउँपालिका र संखुवासभा मल्टिमिडियाको सहकार्यमा वडा तथा गाउँपालिका र सेवाग्राहिबिच पारस्परिक जवाफदेहिता कायम गर्ने उद्धेश्यका साथ तयार गरिएको भिडियो, अनलाइन र छापा संस्करणमा प्रस्तुत कार्यक्रम “मकालु सन्देश”

यो कार्यक्रम हरेक महिनाको १५ र ३० गते मकालु गाउँपालिकाको फेसबुक पेज, हेर्ने चित्र फेसबुक र युट्युव च्यानलबाट साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म, संखुवासभा एक्सप्रेस साप्ताहिकमा हरेक महिनाको दोस्रो र अन्तिम साता साथै हेर्ने चित्र अनलाइनमा हरेक महिनाको १५ र ३० गते प्रशारण तथा प्रकाशन हुने गर्दछ ।

मकालु गाउँपालिका चिनारी

विश्वको पाँचौ अग्लो शिखर मकालु हिमालको नामबाट नामाकरण गरिएको गाउँपालिका हो मकालु । कोशी प्रदेश अन्तर्गत हिमाली जिल्ला संखुवासभाको पाँच नगरपालिका र पाँच गाउँपालिकाहरु मध्ये मकालु गाउँपालिका एक हो । साविकका नुम, पाथिभरा, पावाखोला, याफु र मकालु गाउँ विकास समितिलाई समेटेर २०७३ फागुन २७ गते मकालु गाउँपालिका घोषणा गरिएको हो ।

यस गाउँपालिकाको उत्तर–पूर्वमा भोटखोला गाउँपालिका र ताप्लेजुङ्ग जिल्ला, पश्चिममा सिलिचोङ गाउँपालिका र सोलुखुम्वु जिल्ला, उत्तरमा चीन तथा दक्षिणमा चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकासँग सिमाना जोडिएको छ । यस गाउँपालिकामा ६ ओटा वडाहरु रहेका छन् ।

पहाडी तथा हिमाली भुभागमा अवस्थित मकालु गाउँपालिका समुन्द्र सतहबाट ४४२ मिटर देखि ८,४६३ मिटरको उचाईसम्म फैलिएको छ । यस गाउँपालिका ५१९.४५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ, जसमध्ये कृषि क्षेत्र ५५.५ प्रतिशत, जंगल २३.७८ प्रतिशत, बस्ती क्षेत्र ६.८३ प्रतिशत, खाली जग्गा १३.६ प्रतिशत र अन्य क्षेत्र ०.२९ प्रतिशत रहेको छ । २०७८ सालको जनगणना अनुसार मकालु गाउँपालिकाको जनसंख्या १३,४२४ रहेको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्जको मूख्य क्षेत्र रहेको मकालु गाउँपालिकामा शिवधारा, पार्वति गुफा, दुध पोखरी, पाँच पोखरी लगायत झरना र दर्जनौं हिमतालहरु रहेको छ । जल श्रोतको हिसाबले अब्बल मकालु विद्युत उत्पादन क्षेत्रको हब बन्दै गएको छ भने सामाजिक, आर्थिक र भौतिक विकासका कार्यहरु भइरहेका छन् ।

कृषि र प्राकृतिक सम्पदामा विशेष जोड दिई पुर्वाधार विकासको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटनलाई स्थानीय जनताको आयश्रोतको मुख्य आधारको रुपमा विकास गरी कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई अब्बल बनाई मानवीय क्षमता विकासको माध्यमबाट समृद्ध, समुन्नत, स्वस्थ, सभ्य र सुशासनयुक्त समाज निर्माण गर्नु मकालु गाउँपालिकाको मुख्य उद्धेश्य हो ।

समाचारहरु

१. दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न
मकालु गाउँपालिकाले दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका र सिद्धार्थ बैंक मकालु शाखामार्फत गाउँपालिकाका ६ ओटै वडाको केन्द्रमा पुगेर भत्ता वितरण गरेको हो । माघ ७ गते देखि सुरु भएको कार्यक्रम माघ १३ गते सम्पन्न भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

माघ ११ गते वडा नं. १ को ठाँगेमा गरिएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा १ सय १७ जना लाभग्राही मध्ये ४५ जना लाभग्राहीको उपस्थिति रहेको थियो ।

यस्तै माघ ८ गते वडा नं. २ को सेदुवामा पहिलो पटक वडाको केन्द्रमा भत्ता वितरण गरिएको छ । अरुण नदीमा बेलीबृज सञ्चालनमा आएपछी कर्मचारीहरु वडामा नै पुगेर पहिलो पल्ट भत्ता वितरण गरेको वडा अध्यक्ष छोपाल शेर्पाले बताउनु भयो । २ सय ७४ जना लाभग्राही रहेको वडा नं. २ मा १ सय १९ जनाले सेवा लिनु भएको थियो ।

यसै गरी माघ १० गते वडा नं. ३ को गढीमा गरिएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा ३ सय ७१ जना लाभग्राही मध्ये २ सय २८ जना लाभग्राहीको उपस्थिति रहेको थियो ।

यसै गरी माघ ९ गते वडा नं. ४ को कारमाराङमा गरिएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा १ सय ६७ जना लाभग्राही मध्ये ६९ जना लाभग्राहीको उपस्थिति रहेको थियो ।

यसै गरी माघ १३ गते वडा नं. ५ को नुममा गरिएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा ३ सय २ जना लाभग्राही मध्ये ६४ जना लाभग्राहीको उपस्थिति रहेको थियो ।

यसै गरी माघ ७ गते वडा नं. ६ को डाँडा गाउँमा गरिएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा १ सय १४ जना लाभग्राही मध्ये ५८ जना लाभग्राहीको उपस्थिति रहेको थियो ।

२. अपांगता सहायता पदका लागि अन्तिम नतिजा प्रकाशन
मकालु गाउँपालिकाले अपांगता सहायता पदका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । माघ १२ गते गाउँपालिकाले सूचना जारी गर्दै सफल र वैकल्पिक उम्मेदवारको नाम सार्वजनिक गरेको हो । सफल हुनेमा मकालु ५ का महेश्वर राई रहनु भएको छ भने वैकल्पिक उम्मेदवारका रुपमा पाँचखपन ४ की विनिता कटुवाल रहनु भएको छ ।

आधारभुत कम्प्युटर सीप परिक्षण, अन्तवार्ता र विविध पक्षहरुको मुल्यांकनका आधारमा उम्मेदवार छनौंट गरिएको हो । सूचनामार्फत नै सफल उम्मेदवारलाई ७ दिन भित्र करार सम्झौताका लागि सक्कल कागज पत्रसहित कार्यालय समयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

३. मकालु महोत्सव तथा दक्षिण एसियाली मुलुकहरुको साहित्यिक सम्मेलन हुने
मकालु गाउँपालिकाको आयोजनामा मकालु महोत्सव तथा दक्षिण एसियाली मुलुकहरुको साहित्यिक सम्मेलन हुने भएको छ । मकालुको नुममा हुने महोत्सव तथा सम्मेलन फागुन १४ देखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवका अवसरमा भलिबल प्रतियोगिता, मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, स्थानीय उत्पादनका स्टलहरु, साँस्कृतिक कार्यक्रम र साहित्यिक सम्मेलन गरिने भएको छ । माघ १३ गते बसेको कार्यपालिकाको बैठकले उपाध्यक्ष मनकला राईको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।

सरसफाई गर्न सूचना जारी
महोत्सव तथा सम्मेलनको अवसरमा नुम बजार क्षेत्र सरसफाई गर्न गाउँपालिकाले सूचना जारी गरेको छ । माघ १४ गते सार्वजनिक गरिएको सूचनामा १५ दिन भित्र आफ्नो घर वरपर, सार्वजनिक स्थल तथा सडकमा राखिएका विभिन्न वस्तुहरु हटाउन अनुरोध गरिएको छ । जथाभावि राखिएका दाउरा, ढुंगा, गिटी, बालुवा, सवारी साधन, कवाडी सामान र घर पालुवा पशु वस्तुहरु हटाउन भनिएको छ ।

साथै नुम बजारलाई सफा राखी आगामी सञ्चालन हुने महोत्सव तथा सम्मेलनलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न मकाल्ु बासीमा अनुरोध गरिएको छ । तोकिएको मितिमा निर्देशनलाई पालना नगरे कारबाही प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

गत वर्ष पनि गाउँपालिकाको आयोजना तथा द नर्थ वरुण युथ क्लवको संयोजनमा महोत्सव सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्ने संस्था र व्यक्तिहरु, हिमाल आरोहीहरुलाई सम्मान गरिएको थियो ।

७ दिन भित्र होटल तथा व्यवसाय दर्ता गर्नुपर्ने
महोत्सवलाई सफलतापुर्वक सम्पन्न गर्न होटल व्यवसायी तथा अन्य व्यवसायीहरुलाई सूची दर्ता गर्न र नवीकरण गर्न गाउँपालिकाले अनुरोध गरेको छ । माघ १३ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गर्दै माघ १४ गते सूचना जारी गर्दै यस्तो अनुरोध गरिएको हो । सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र सूची दर्ता तथा नवीकरण गर्नुपर्ने छ ।

सूचनामार्फत नै महोत्सवको अवसरमा व्यवसायीहरुलाई सक्रिय सहभागिता साथै गुणस्तरीय सेवा प्रवाहको गाउँपालिकाले अपेक्षा राखेको छ ।

४. एचपीभी खोप अभियान माघ २७ देखि सञ्चालन
मकालु गाउँपालिकाले एचपीभी खोप अभियान माघ २७ देखि फागुन २ गतेसम्म सञ्चालन हुने भएको छ । वडा नं. १ देखि ६ सम्मका विद्यालय तथा स्वास्थ्य स्वास्थ्य संस्थाहरुलाई केन्द्र बनाएर खोप सञ्चालन गरिने भएको छ । विभिन्न २८ केन्द्रबाट १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई खोप दिइने स्वास्थ्य शाखा प्रमुख छिङ दोर्जी लामाले बताउनु भयो ।

यस अभियानमा विद्यालयमा ५ सय ७४ र विद्यालय बाहिरका १ सय २७ गरी ७ सय १ जनालाई खोप दिइने लक्ष्य राखिएको छ । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध लगाइने यो खोप अनिवार्य लिन स्वास्थ्य शाखा प्रमुख लामाले आग्रह गर्नु भएको छ ।
खोप सञ्चालनका लागि वडा नं. १ मा ३ ओटा, वडा नं. २ मा ५ ओटा, वडा नं. ३ मा ७ ओटा, वडा नं. ४ मा ४ ओटा, वडा नं. ५ मा ७ ओटा र वडा नं. ६ मा २ ओटा केन्द्र निर्धारण गरिएको छ ।

अन्तरवार्ता

नेपाल सरकारले यहिँ २०८१ माघ २२ गते देखि २०८१ फागुन ७ गतेसम्म देशैभर एच.पी.भी. खोप अभियान सञ्चालनको घोषणा गरेको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप अभियान मकालु गाँउपालिका अन्तरगतका विद्यालयहरुमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई र विद्यालय नजाने १० देखि १४ बर्षसम्मका किशोरीहरुलाई दिइनेछ । मकालु गउँपालिका भित्र माघ २७ देखि सञ्चालन हुन लागेको एचपीभी खोप बारे मकालु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छिङ दोर्जी लामासँग सञ्चारकर्मी मेघराज तामाङले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

१. यो एच पी भी खोपको तयारी बारे जानकारी गराईदिनुस् न ?
नेपाल सरकारले पूर्व घोषित देशैभरि यो माघको २२ गते देखि फागुन ७ गतेसम्म सम्पन्न गर्ने गरि हामीसँग विभिन्न निकायबाट परिपत्र भइसकेको छ । हामिलाई विभिन्न तहमा यो विषयमा एच पी भी खोप बारे अभिमुखीकरण कार्यक्रम भइसकेको कारणले गर्दा अब हाम्रो संखुवासभा जिल्ला मकालु गाउँपालिकाको हकमा लगभग जिल्ला स्तरीय खोप समन्वय समितिको निर्णय अनुसार साथै आजै प्राप्त पत्र अनुसार मकालु गाउँपालिका अथवा संखुवासभा जिल्लामा विभिन्न कार्यक्रमहरुलाई मध्यनजर गर्दै मकालु गाउँपालिकामा यहिँ २०८१ माघको २७ गते देखि फागुनको २ गतेसम्म सम्पन्न गर्ने गरि तयारी भइरहेको अवस्था छ ।
२. खोप केन्द्र वा उहाँहरुलाई खोप लगाउनको लागि कहाँ केन्द्र निर्धारण गरिएको छ  ?
अब यस्को चाहिँ विशेष गरेर अहिलेको यो खोप केन्द्र निर्धारणको मापदण्ड भनेको विद्यालय रहन्छ । त्यो विद्यालय सबै केन्द्र हैन । कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन गराउने विद्यालयमा खोप केन्द्र रहन्छ । त्यहाँ एक जना विद्यार्थी भएपनि खोप केन्द्र रहन्छ । त्यो सँगसगै यदि विद्यालय भन्दा बाहिरकोलाई विभिन्न १८ ओटा स्वास्थ्य संस्थाहरुमा खोप दिइनेछ । विद्यालयको खोप केन्द्रमा खोप सम्पन्न पश्चात विभिन्न मितिमा मिलाएर १८ वटा स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र रहने व्यवस्था गरिएको छ ।
३. खोप दिलाउनलाई उमेर समूह तोकिएको होलानि त ?
अव यसमा चाहिँ २ वटा उमेर समूह क्याटागोरी रहेका छन् । एउटा चाहिँ विद्यालयमा अध्यनरत विद्याार्थीको हकमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्राहरु कोशोरीहरुलाई यो एउटा लक्षित समूह बनाएको छ । त्यसै गरेर विद्यालय भन्दा बाहिर रहेकालाई १० वर्ष देखि १४ वर्षसम्मको किशोरीहरुलाई गरेर यो कार्यक्रम सञ्चालन हुँदैछ ।
४. मकालुका कति संख्यामा किशोरीलाई यो खोप दिइन्छ, आँकलन के छ तपाईको ?
हाम्रो लक्ष्य चाहिँ विद्यालयमा अध्ययनरत विद्यार्थिहरुको सख्या ५७४ जना र बिद्यालय बाहिरको सख्या १२७ गरेर जम्मा ७०१ जनालाई खोप दिन्छौँ । त्यो सँगसगै २८ जना तालिम प्राप्त स्वास्थ्यकर्मीहरु त्यँहा परिचालन हुनेछन । त्यस्तै ५६ जना स्वयमसेवकहरु यो कार्यक्रम सम्पन्न गर्नको लागि परिचालित हुनेछन् । त्यसै गरि यो वडागत लक्ष्य भन्नु पर्दा १ नं. वडामा लगभग १४ जना लक्षित सख्या रहेको छ । वडा नं. २ मा १५१ जना, वडा नं. ३ मा १९५ जना, वडा नं. ४ मा ३२ जना, वडा नं. ५ मा २८१ जना र ६ नं. वडामा २८ जनालाई यो अभियानमा खोप लाउने हाम्रो लक्ष्य रहेको छ ।
यहाँहरुलाई खोप केन्द्रको बारेमा समेत जानकारी गराउँ की वडा नं. १ अन्तर्गत शिंहदेवी आ.वि. तल्लो वालुङ २७ गते, वालुङ सामुदायिक स्वास्थ्य इकाई माथिल्लो वालुङ २८ गते, ठाँगे आधारभूत स्वास्थ्य सेवा केन्द्र २९ गते खोप सञ्चालन हुनेछ । त्यस्तै गरेर वडा नं. २ मा हेमाद्रि मा.वि. सेदुवा माघ २७ गते, नुर्बु गाउँ सामुदायिक स्वास्थ्य इकाई २८ गते, च्याक्सेडाँडा सामुदायिक स्वास्थ्य इकाई २९ गते, लिम्दुम्सा सामुदायिक स्वास्थ्य इकाई ३० गते र मकालु स्वास्थ्य चौकि सेदुवा फागुन १ गते सञ्चालन हुनेछ । यो संगै वडा नं. ३ मा राजारानी आ.वि. गढीमा माघ २७ गते, हिमालय मा.वि. गोलेचौरमा २८ गते, सोभा आ.वि. सिम्मामा २९ गते, गढी सामुदायिक स्वास्थ्य इकाई ३० गते, गोलेचौर सामुदायिक स्वास्थ्य इकाइमा ३० गते, एकुवा सामुदायिक स्वास्थ्य इकाइमा फागुन १ गते र पाथिभरा स्वास्थ्य चौकी सिम्मामा फागुन २ गते खोप सञ्चालन हुनेछ ।
वडा नं. ४ अन्तर्गत सेतिकन्या आ.वि. कारमाराङमा माघ २७ गते, चसुवाटार सामुदायिक स्वास्थ्य इकाईमा २८ गते, बैदे सामुदायिक स्वास्थ्य इकाइमा २९ गते र पावाखोला स्वास्थ्य चौकिमा ३० गते रहने छ । त्यसै गरेर वडा नं. ५ अन्र्तगत सिंहेश्वरी मा.वि. नुममा २७ गते, पञ्चकन्या आ.वि. मांसिमामा २७ गते, अरुण भ्याल्ली बोर्डिङमा २८ गते, मांसिमा सामुदायिक स्वास्थ्य इकाई मांसिमामा २८ गते, साभाङ सामुदायिक स्वास्थ्य इकाईमा २९ गते, आम्राङ सामुदायिक स्वास्थ्य इकाईमा २९ गते र नुम प्राथमिक स्वास्थ्य केन्द्र नुममा ३० गते खोप सञ्चालन हुनेछ । यस्तै वडा नं. ६ अन्र्तगत कन्या आ.वि. छोयाङमा माघ २७ गते, याफू स्वास्थ्य चौकिमा २८ गते गरेर २८ वटा खोप केन्द्र निर्धारण गरी अभियान सञ्चालन हुँदैछ । कार्यक्रम त्यहिँ अनुसार अघि बढेको अवस्था छ ।
५. यति धेरै खोप केन्द्रहरु छन्, जनशक्ति व्यवस्थापनलाई कसरी हेर्नु भएको छ ?
हाम्रो जनशक्ति चाहिँ प्रत्येक वडामा पर्याप्त मात्रामै छन् । सम्बन्धित वडा अन्तर्गत नै तालिम लिएर कर्मचारीहरु गैसकेको अवस्था छ । वहाँहरुमार्फत नै कार्यक्रम सम्पन्न हुनेछ । थप जनशक्ति अन्य पालिका वा वडाबाट पठाउनु पर्र्ने अवस्था छैन ।
६. यो एच.पि.भी खोप लगाउनै पर्ने सरकारले नै अनिबार्य गरेको छ, यो विषयमा लक्षित बर्गलाई के सन्देश दिन चाहनु हुन्छ ?
यो एच.पि.भी. खोप विशेष गरेर पाठेघरको मुखको क्यान्सर बिरुद्ध रोकथामको लागि प्रदान गरिने खोप हो । यो खोप पाठेघरको मुखको क्यान्सरले विश्वमा लगभग ५५ प्रतिशत जतिलाई प्रभावित गरिरहेको अवस्था छ । विश्वमा लगभग २ मिनेटमा १ जनाको पाठेघरको मुखको क्यान्सरले मृत्यु भइरहेको छ । नेपालको तथ्यांकलाई हेर्ने हो भने क्यानसर गराउने कारणमा दोस्रो र यसबाट मृत्यु पहिलो अवस्थामा रहेको छ । १०० जना क्यान्सर पिडित भयो भने त्यसमा ८५ जना चाहिँ युवा अवस्थाका किशोरीहरु रहेको देखिन्छ र त्यस मध्ये पनि हाम्रो जस्तो न्यून आय भएको मुलुकमा चाहिँ कम्तिमा १० जनाको मृत्यु हुदै छ भने ९ जना चाहिँ यहिँ पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु भएको पाइन्छ । र यस्ता कुराहरुको मध्यनजर गर्दै नेपाल सरकारले यो बर्ष अभियानको रुपमा सञ्चान गर्दैछ  । र आगामी बर्ष देखि यो नियमित खोपको रुपमा सञ्चालन गर्ने भएको हुँदा जति पनि हामिले २८ वटा खोप केन्द्रमार्फत विद्यालय र विद्यालय बाहिरका जति जना लक्षित समूह छन्, उहाँहरुलाई खोप केन्द्रमा आएर यस पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाउन अनुरोध छ । एच.पि.भी खोप चाहिँ निर्धक्क साथ लाउनको लागि म लगायत मकालु गाउँपालिकाको तर्फबाट हार्दिक आह्वान गर्न चाहन्छौँ ।


मकालु गाउँपालिकाको प्रांगणमा निर्माण गरिएको नुम बजार पार्क ।

१. सूचना

मकालु गाउँपालिका
गाउँपालिकाको कार्यालय
नुम, संखुवासभा

सूची दर्ता तथा नवीकरण गर्ने सम्बन्धि सार्वजनिक सूचना । (प्रकाशन मिति : २०८९।१०।१४)

प्रस्तुत विषयमा यस मकालु गाँउपालिका गाँउकार्यपालिकाको मिति २०८१ माघ १३ गते बसेको बैठकको निर्णय अनुसार यही मिति २०८१ फागुन १४ गते देखि १७ गते सम्म “मकालु महोत्सव तथा दक्षिण एसियाली मुलुकहरुको साहित्यिक सम्मेलन” आयोजना गर्ने सुनिश्चित भएको हुँदा मकालु गाँउपालिका क्षेत्र भित्र व्यापार व्यवसाय गर्दै आएका होटल तथा अन्य व्यवसायीहरुका लागि सूचना प्रकाशन भएको मिति देखि ७ दिन भित्रमा होटल तथा अन्य व्यवसायहरुको सूची दर्ता तथा नवीकरण गर्न सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ ।

पुनश्च : उक्त महोत्सव तथा सम्मेलनमा सक्रिय सहभागिता र गुणस्तरीय सेवा प्रवाहको समेत अपेक्षा गरिन्छ ।

मनकला राई
उपाध्यक्ष

२. सूचना

मकालु गाउँपालिका
गाउँपालिकाको कार्यालय
नुम, संखुवासभा

सार्वजनिक स्थल व्यवस्थापन तथा सरसफाई सम्बन्धमा । (प्रकाशन मिति : २०८९।१०।१४)

प्रस्तुत विषयमा यस मकालु गाँउपालिका गाँउकार्यपालिकाको मिति २०८१ माघ १३ गते बसेको बैठकको निर्णय अनुसार यही मिति २०८१ फागुन १४ गते देखि १७ गतेसम्म “मकालु महोत्सव तथा दक्षिण एसियाली मुलुकहरुको साहित्यिक सम्मेलन” आयोजना गर्ने सुनिश्चित भएको हुँदा आफ्नो घर वरपर, सार्वजनिक स्थल एवम् सडकमा रहेका विभिन्न किसिमका वस्तुहरु (जस्तैः दाउरा, ढुङ्गा, गिटी, वालुवा, कवाडी सामान, सवारी साधन, घरपालुवा जनावरहरु आदि) सूचना प्रकाशन भएको मिति देखि १५ दिन भित्र हटाइ आफ्नो घर वरपर रहेको सार्वजनिक स्थल, सडक आदि व्यवस्थित र सफा राखी उक्त महोत्सव तथा सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरी दिन हुन आम मकालुबासी सबैमा अनुरोध छ ।

पुनश्च : तोकिएको मितिमा दिइएको निर्देशन पालना नगरेको पाइएमा नियमानुसार कार्वाही प्रकिया अगाडी बढाइने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ ।

मनकला राई
उपाध्यक्ष

३. सूचना एच पी भी खोप सम्बन्धी सूचना

यस अंकमा प्रकाशित सामाग्रीहरु हेर्ने चित्र युट्युव, फेसबुक पेज र हेर्ने चित्र अनलाइन साथै मकालु गाउँपालिकाको फेसबुक पेजमा भिडियो संस्करणमा हेर्न सक्नु हुनेछ ।

 

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search