मकालु महोत्सवको तयारी पुरा

मकालु गाउँपालिकाको आयोजनामा हुने मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मेलनको तयारी पुरा भएको छ । मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा महोत्सव सञ्चालन गरिने भएको हो । फागुन १४ देखि १७ गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मकालु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छिङदोर्जी लामाले बताउनु भयो ।

गत वर्ष देखि मकालु गाउँपालिकाले मकालु महोत्सवको आयोजना गर्दै आएको छ । गत वर्ष सञ्चालन गरिएको महोत्सव तथा प्रचारप्रसारका कारण मकालु हिमाल आरोहण गर्नेको संख्या पनि बढेको गाउँपालिकाले जनाएको छ । अघिल्लो आर्थिक वर्षहरुमा १ करोड राजश्व संकलन हुन मुस्किल थियो । तर मकालु महोत्सवकै प्रभावले गत आर्थिक वर्षमा करिब १ करोड ८० लाख रुपैंया राजश्व संकलन भएको छ । यो वर्ष २ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेको जनाइएको छ । संकलन भएका राजश्वको करिब १५ प्रतिशत महोत्सव सञ्चालनमा खर्च हुँदै आएको गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले बताउनु भयो ।

महोत्सवका अवसरमा भलिबल प्रतियोगिता, मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, स्थानीय उत्पादनका स्टलहरु, साँस्कृतिक कार्यक्रम र साहित्यिक सम्मेलन गरिने भएको छ । उक्त कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरिएको छ ।

विश्वको पाँचौ अग्लो हिमाल मकालु ८ हजार ४ सय ६३ मिटर रहेको छ । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १९५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलो पटक मकालुको शिखरमा पुगेका थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search