संखुवासभाको पाँचखपन नगरपालिकाका ७७ घर परिवारका लागि स्वच्छ खानेपानी हस्तान्तरण गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट र पाँचखपन नगरपालिकाको साझेदारीमा सञ्चालित एक घर एक धारा कार्यक्रम सम्पन्न गरी हस्तान्तरण गरिएको हो । आइतबार पाँचखपन १, ३, ७ र ८ नं. वडाको संगम स्थल नागी डाँडामा खानेपानी उद्घाटन गर्दै ४ ओटा वडाका ७७ परिवारलाई सम्पन्न योजना हस्तान्तरण गरिएको हो ।
गोर्खा वेलफेयरको करिब ५१ लाख र नगरपालिकाको साझेदारीमा ७७ धारा निर्माण गएिको हो । जसमा स्थानीय उपभोक्ताहरुद्धारा श्रमदानसमेत गरिएको थियो । कर्यक्रममा गोर्खा वेलफेयरका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, नगर प्रमुख तथा उपप्रमुखहरु र स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख विपिन राईले करिब ७ वर्ष अघि वडा नं. ३ का अध्यक्ष शुक्रराज राईले गोर्खा वेलफेयरको कार्यक्रमलाई पाँचखपनमा भित्राएको स्मरण गर्नु भयो । सुरुवातमा आयोजना सञ्चालन गर्दा स्थानीयले ९० दिन अनिवार्य श्रमदान गर्नुपर्ने भएकाले योजना सञ्चालनमा समस्या देखिएको थियो । तर योजना सम्पन्न भए पश्चात उपभोक्ताहरु श्रमदान गर्दाको क्षणलाई भुलेर खुशी भएको बताउनु भयो ।
जुनबेला आवश्यक कच्चा पदार्थहरु स्थानीयले नै उपलब्ध गराउनु पर्ने बाधयता भए पनि हाल दातृ संस्था र नगरपालिकाले श्रम गर्ने उपभोक्तालाई ज्याला र आवश्यक सामाग्री समेत उपलब्ध गराउँदै बआएको बताउनु भयो । यस किसिमको कार्यक्रम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा अध्यक्ष राई हाल अस्वस्थ भई उपचार गराईरहनु भएकोले वहाँको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नु भयो ।
पाँचखपनका ९ ओटै वडामा करिब १२ सय घर परिवारलाई सफा खानेपानी वेलफेयर र नगरपालिकाको पहलमा हस्तान्तरण भइसकेको छ ।