काठमाण्डौ । नेपाल सरकारले आतङ्कवादविरुद्ध लिएको अडानका लागि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले धन्यवाद व्यक्त गर्नुभएको छ ।
हिजो बेलुका लैनचौरमा रहेको दूतावासमा मूलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले जम्मू–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी आक्रमणकोविरुद्धमा नेपाल सरकार र नेपाली नागरिक उभिएकोमा खुशी व्यक्त गर्नुभयो ।
काश्मीरको पहलगाममा गएको वैशाख ९ मा भएको आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो । यो आक्रमण र त्यसपछि विकासित घटनाक्रमका बारेमा राजदूत श्रीवास्तवले जानकारी गराउनुभयो ।
पहलगाम घटनापछि काश्मीर क्षेत्रको ‘लाइन अफ कन्ट्रोल’को भारतीय सेनाका चेकपोष्टमा आक्रमण भएको र यसमा १६ जना भारतीयको ज्यान गएको उहाँले बताउनुभएको छ । भारतको तर्फबाट संयमता अपनाइ जवाफी कारबाही मात्र गरिएको उहाँको भनाइ छ ।
त्यसअघि हिजो राजदूत श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो । विश्व शान्तिको पक्षमा दृढ रहेको नेपालले आफ्नो कुनै पनि भूमि आतङ्कवादकोविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभएको उहाँले जानकारी गराउनुभयो ।
राजदूत श्रीवास्तवले भारतका संवेदनशील क्षेत्रमा केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको, छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा कुनै पनि किसिमको समस्या नआउने गरी आवश्यक काम भइरहेको उल्लेख गर्नुभएको छ ।
उहाँले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभएको छ ।
घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो रहेकोमा उहाँको जोड छ ।