काठमाण्डौ । यस वर्षको सगरमाथा आरोहण शुरू भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । यो यामको आरोहणका लागि डोरी टाँग्दै सात जना शेर्पा हिजो शिखरमा पुगेका पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिनुभयो ।
अशोक लामाले नेतृत्व गरेको टोलीले डोरी टाँग्ने काम सम्पन्न गरेको हो । सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा शुरू भएको छ । अब अरु आरोही मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने निर्देशक अवस्थीले बताउनुभयो ।
पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार अहिलेसम्म ४४ आरोही समूहका चार सय २१ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । सगरमाथा आरोहण ४० दिनको हुन्छ ।
सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सङ्कलन भएको छ । सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभयो ।
आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आरोहणका लागि अनुकूल मौसम रहेकाले ‘मे’ ११ तारिख अर्थात् भोलिदेखि तीन दिनसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना छ ।
यतिबेला धेरैको सङ्ख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन् । त्यस्तै ‘मे’ १६ र १७ तारिखमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुसार आरोहणकोक्रममा जाम हुनसक्ने सम्भावना पनि छ ।
यसपाली खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए ।
यो याममा विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा ३१औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने प्रयासमा हुनुहुन्छ ।
टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुग्नुभएको छ ।