काठमाण्डौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्राप्त गरेको ‘जीपीए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ ।
विगतमा प्रवेश परीक्षा लिएर त्यसैका आधारमा विद्यार्थी भर्ना गर्ने गरेकोमा सीटीईभीटीले अबदेखि प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको हो ।
सीटीईभीटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिकसत्रबाट जीपीएका आधारमा विद्यार्थी भर्ना गर्ने जानकारी दिनुभयो । अब विद्यार्थीले सीटीईभीटीअन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिन नपर्ने भएको हो ।
कतिपय पूर्वतयारी कक्षा चलाउनेहरूले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने भन्दै रकम लिएको गुनासो समेत आएको उहाँको भनाइ छ ।
सीटीईभीटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका–२०८२ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
निर्देशिकामा एसईई परीक्षामा प्राप्त जीपीए आधारमा योग्यताक्रम सूची तय गर्ने व्यवस्था गरिएको छ । मिश्रका अनुसार सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्णलाई थप अङ्कभारबापत एक र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अङ्कभार वापत ० दशमलव ८५ दिने व्यवस्था गरिएको छ ।
सीटीईभीटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाइनमार्फत फारम भर्ने व्यवस्थासमेत गरेको छ । आङ्गिक र सम्बन्धनप्राप्त निजी क्याम्पसले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्नेछन् ।
निजी कलेजहरूले यसअघि नै ग्रेडका आधारमा भर्ना गर्न माग गर्दै आएका थिए । देशभर ६३ आङ्गिक र प्रतिष्ठान एवम् निजी गरी चार सयभन्दा बढी कलेज रहेका छन् । ती कलेजमा २५ हजारभन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको परीक्षा नियन्त्रक मिश्रले बताउनुभयो ।