काठमाण्डौ । चालू आर्थिक वर्ष सकिन दुई महिनामात्रै बाँकी रहँदा सरकारको पूँजीगत अर्थात् विकास खर्च लक्ष्यको ३४ दशमलव १६ प्रतिशतमात्रै भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षका लागि पूँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन भएकोमा हिजो अर्थात् वैशाख मसान्तसम्ममा एक खर्ब १९ अर्ब ८६ करोड रुपैयाँमात्रै खर्च भएको हो ।
सरकारले गएको आर्थिक वर्षको वैशाख मसान्तसम्ममा लक्ष्यको ३७ प्रतिशत विकास बजेट खर्च गरेको थियो । आफ्नो लक्ष्य भेटाउन सरकारले अब दुई महिनामा दुई खर्ब ३१ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ विकास बजेट खर्च गर्नुपर्छ ।
छोटो समयमा धेरै काम गर्दा कामको गुणस्तर नहुने, कतिपय कामै नगरी भुक्तानी दिनेलगायतका समस्या आउने गरेका छन् । सँगै जेठ–असारमा हतारहतार धेरै बजेट खर्च गर्ने र त्यसको उपलब्ध कमजोर हुने भएकोले बारम्बार असारे विकासको विरोध भइरहे पनि सरकारले फेरि आफ्नो पुरानै बानी दोहोर्याएको हो ।
विकास बजेटको खर्च कमजोर रहे पनि चालूतर्फ भने लक्ष्यको ६७ दशमलव ७९ प्रतिशत धेरै खर्च भइसकेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ७१ दशमलव ९६ प्रतिशत खर्च भएकाले सरकारको कुल खर्च भने लक्ष्यको ६२ दशमलव २४ प्रतिशत पुगेको छ । वित्तीय व्यवस्थातर्फको बजेट ऋणको साँवा–ब्याज भुक्तानी तथा शेयर लगानीमा खर्च हुन्छ ।
यस्तै सरकारले आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा लक्ष्यको ६४ दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । १४ खर्ब १९ अर्ब ३० करोड राजस्व सङ्कलनको लक्ष्य लिएको सरकारले वैशाख मसान्तसम्ममा नौ खर्ब १९ अर्ब ३९ करोड रुपैयाँ सङ्कलन गरेको छ ।
सरकारले १० महिनामा कुल नौ खर्ब ४६ अर्ब ३३ करोड ४३ लाख आम्दानी गर्दा ११ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ । जसअनुसार सरकारको आम्दानीभन्दा खर्च दुई खर्ब ११ अर्ब रुपैयाँभन्दा धेरैले बढी छ ।