आन्दोलन नरोकेसम्म राप्रपा नेताहरूले सुरक्षाकर्मी फिर्ता पाउँदैनन् : गृहमन्त्री

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मी (पीएसओ)राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताउनुभएको छ ।

सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्रीले यस्तो बताउनुभएको हो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले आफ्ना नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो भन्दै प्रश्न गर्नुभएको थियो ।

सरकारले केही दिनअघि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो । प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्नेबित्तिकै पुनः खटाइने बताउनुभयो ।

गृहमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, सङ्घीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि देशलाई अन्धकारमा लैजाने बताउनुभयो । संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा कोही पनि नलाग्न उहाँको चेतावनी छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search