विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि सांसदहरु बोल्ने काम सकियो,संसद्का दुवै सदनको बैठक आज पनि

काठमाण्डौ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरुमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । बैठकबाट युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका सचिवालय र राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकहरुमाथि छलफलमा सांसदहरुको बोल्ने क्रम हिजोदेखि सकिएको हो ।

यसैबीच सङ्घीय संसद्को दुवै सदनको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यस्तै राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची छ ।

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search