मकालु गाउँपालिकाले यस चालु आर्थिक वर्षमा वेरुजु रकम घटाएको छ । महालेखा परिक्षकको ६२ औं प्रतिवेदनमा उल्लेख भए अनुसार यस वर्षमा मकालु गाउँपालिकाको बेरुजु रकम २ करोड ३४ लाख ८९ हजार ७ सय ६२ रुपैंया रहेको छ । यससंगै गाउँपालिकाले यस वर्ष ११ करोड १८ लाख ४१ हजार ९ सय ६३ रुपैंया ३० पैसा वेरुजु फच्र्यौट गरेको छ । वेरुजु फच्र्यौटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्थानीयद्धारा गाउँपालिकाको प्रशंसा गरिएको छ ।
बुधबार मकालु गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै स्थानीय तथा नागरिक अगुवाहरुले गाउँपालिकाको प्रशंसा गरेका हुन् । २०७४/०७५ देखि गत वर्षसम्म २० करोड ७ लाख ३ हजार ८ रुपैंया बेरुजु रहेको थियो । गाउँपालिकाले यसै वर्ष मात्रै करिव ५५ प्रतिशत वेरुजु फच्र्यौट गरेको हो । तत्कालै ३ करोड बढीको बेरुजु फच्र्यौटको अन्तिम तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । जिल्लाका १० स्थानीय तह मध्ये वेरुजु कम हुनेमा मकालु गाउँपालिका दोस्रो स्थानमा छ ।
वेरुजु फच्र्यौटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गाउँपालिकाले दुई जना कर्मचारीलाई सम्मान गरेको छ । मंगलबार सम्पन्न १२ औं गाउँसभाको अवसरमा लेखा अधिकृत अरविन्द झा र सव इन्जिनियर गायत्री घिमिरेलाई सम्मान गरिएको हो । गाउँपालिकाले उत्कृष्ट कर्मचारी वर्षको रुपमा स्वास्थ्य शाखा प्रमुख छिङदोर्जी लामालाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई जनही १ लाख रुपैंया र सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।











