काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताउनुभयो ।
‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रूपमा भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरको प्रगतिबाट हामी प्रसन्न छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो ।
उहाँले नेपाल र भारतबीच शताब्दीऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवम् विश्वासमा आधारित रहेको बताउनुभयो ।
‘नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राखेको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्त्व दिने भारत सरकारको ‘छिमेक पहिले नीति’ को नेपाल सराहना गर्दछ’, राष्ट्रपतिले भन्नुभयो ।
विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।
विदेश सचिवले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवम् विकासका लागि ‘कनेक्टिभिटी’ विस्तारका साथै पारस्परिक हित र चासोका विषयमा सम्बद्ध अधिकारीहरूसँग छलफल गर्ने अवसर मिलेको बताउनुभयो ।