काठमाण्डौ । न्युजिल्यान्डका पूर्वकप्तान रस टेलरले सन्न्यास फिर्ता लिएर सामोआबाट खेल्ने भएका छन् । आउँदो आईसीसी टी–२० विश्वकप एशिया–पूर्वी एशिया प्यासिफिक छनोटमा सामोआको प्रतिनिधित्व गर्न सन्न्यास फिर्ता लिएको ४१ वर्षीय मध्यक्रमका ब्याटर टेलरले सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् । प्रतियोगिताका लागि कालेब जसमतको नेतृत्वमा सामोआले घोषणा गरेको टोली टेलर पनि समावेश छन् ।
रस टेलरकी आमा सामोआ मूलकी भएका कारण उनीसँग सामोआको नागरिकता छ । उनले सन् २०२२ को अप्रिलमा अन्तिम पटक न्युजिल्यान्डका लागि खेलेका थिए । योसँगै टेलरको ३ वर्षे ‘कुलिङ अफ पिरियड’ पनि पूरा भएको छ ।
सन् २००६ देखि २०२२ सम्म न्युजिल्यान्डका लागि खेलेका टेलरले १ सय १२ टेस्टमा ७ हजार ६ सय ८३, २ सय ३६ एकदिवसीयमा ८ हजार ६ सय ७ र १ सय २ टी–२० मा १ हजार ९ सय ९ रन बनाएका छन् । यस्तै सामोआबाट खेल्नका लागि न्युजिल्यान्डका ३२ वर्षीय शन सोलियान पनि टोलीमा समावेश भएका छन् ।