इजरायली सेनाले गाजा शहरको ४० प्रतिशत भाग कब्जा गरेको दाबी गरेको छ । सेनाले गाजामा पूर्ण नियन्त्रण प्राप्त गर्न ठूलो कारबाहीको तयारी गरिरहेको बताएको बीबीसीले जनाएको छ ।
पत्रकार सम्मेलनमा इजरायली सेनाका प्रवक्ता एभी डेभ्रिनले अब गाजामा हमासको पूर्वाधार ध्वस्त पार्न ठूलो र शक्तिशाली अपरेशन शुरू गर्ने जानकारी दिनुभएको खबरमा उल्लेख छ । आउँदा दिनहरूमा गाजा शहर र वरपरको कारबाहीलाई अझ तीव्र बनाउने तयारी गरिरहेको उहाँले बताउनुभयो । इजरायली सेनाका प्रवक्ताका अनुसार सबैतिर हमासलाई पछ्याउन जारी राख्ने र बाँकी इजरायली बन्धकहरू फिर्ता नभएसम्म यो अभियान समाप्त हुनेछैन ।
पछिल्ला दिनहरूमा इजरायलले गाजा शहर वरिपरि आफ्नो आक्रमण तीव्र बनाएको छ । यसअघि हमासले सबै बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको थियो तर इजरायलले त्यसलाई अस्वीकार गर्यो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले यो हमासद्वारा फैलाइएको झुटो कथा भन्दै यसमा केही नयाँ कुरा नभएको उल्लेख गरेको छ ।