ओलीको राजनीतिक प्रतिवेदन : ‘विधिको शासन, दलहरूबीचको प्रतिस्पर्धा सुनिश्चित’

ललितपुर । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्नुभएको छ । उहाँले समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताउनुभएको छ ।

आजदेखि ललितपुरमा शुरू भएको दोस्रो महाधिवेशनमा अध्यक्ष ओलीका तर्फबाट उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन वाचन गर्दै समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा सामञ्जस्य गर्दै अगाडि बढाइने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्द्धन गरिने छ ।’

प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर व्याख्या गरिएको छ । नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’ लाई भनिएको छ ।

अध्यक्ष ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘नेपाली विशेषताको समाजवादको एउटा महत्त्वपूर्ण पक्षका रूपमा लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतालाई आत्मसात् गर्नेछ । संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचनजस्ता विषयहरू राज्य सञ्चालनका अभिन्न विषय हुनेछन् । दलहरूबीचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ । नागरिकको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ ।’

प्रतिवेदनमा वर्ग संरचना खण्ड अन्तर्गत निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग भनेर उल्लेख गरिएको छ । जसमा निम्न वर्गको आर्थिक आय प्रायः १ लाख ५० हजारभन्दा कम, मध्यम वर्गमा वार्षिक आय झन्डै १ लाख ५० देखि ५ लाख, उच्च वर्गमा वार्षिक आय ५ लाख रुपैयाँभन्दा माथि भएकालाई आधार मानिएको छ ।

जातीय र सामाजिक आयाममा दलित र मुस्लिम समुदायमा भूमिहीन, सीमान्त किसान र न्यून आय वर्गका बढी देखाइएको छ । सन् २०२२ को तथ्यलाई प्रतिवेदनमा आधार मानिएको छ । जसअनुसार औसत गरिबी दर २० दशमलव ३ प्रतिशत दलितमा र त्यो मुस्लिममा ३० प्रतिशतभन्दा बढी रहेको छ । यसैगरी मानव विकास सूचाङ्कमा पनि जातीय विवेद देखिएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनका साथै अन्य ४ आयोगका प्रतिवेदन पनि पेश गरिने छ । यस्तै स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मतको प्रतिवेदनसमेत आजै प्रस्तुत हुनेछ । महाधिवेशन आइतवारसम्म सञ्चालन हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search