काठमाण्डौ । कोशी र लुम्बिनी प्रदेश सरकारले उद्योगहरुमा विद्युत काट्ने नेपाल विद्युत प्राधिकरणको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्थतन्त्रमा उल्लेख्य योगदान गरी रोजगारी सिर्जना गर्ने उद्योग, कलकारखाना बन्द हुने अवस्था आउनु अस्वभाविक र चिन्ताको विषय भएको बताउनुभएको छ ।
कोशीका मुख्मयन्त्री कार्कीले विद्युत आपूर्ति बन्द गरिएको कारणले कोशी प्रदेशका केही उद्योग बन्द भई अर्थतन्त्रमा मात्र नभई स्थानीय रोजगारीमा समेत असर परेको उल्लेख गर्नुभएको छ । उहाँले सरकार र राज्यप्रति निजी क्षेत्रको विश्वसनियता अभिवृद्धि गरी खस्कंदो अर्थतन्त्रलाई लयमा फर्काउन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
त्यस्तै लुम्बिनीका मुख्यमन्त्री आचार्यले उद्योगहरूको विद्युत् आपूर्ति बन्दका कारण प्रदेशका विभिन्न उद्योगहरू बन्द भएको, सयौं श्रमिकहरू रोजगारीविहीन भएका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पारेको बताउनुभएको छ ।
औद्योगिक क्रियाकलापको निरन्तरता र लगानी वातावरणको स्थायित्वका लागि संघीय सरकारले अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबीच वार्ता र संवादको माध्यमबाट दीर्घकालीन समाधान खोज्न उहाँले आग्रह गर्नुभएको छ ।











