संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. २ देवलमा राष्टिय ख्याति प्राप्त कलाकारहरु आउने भएका छन् । गायिका इन्द्रकला राई, कमलीकान्त भेटुवाल, बिराट तामाङ, दखिन राई लगायत स्थानीय कलाकारहरुले प्रस्तुति दिनेछन् । बालाचर्तुदशी २०८२ को अवसरमा सञ्चालन गरिएको खुल्ला वडा स्तरीय तेस्रो रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको साथमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
वडा खेलकुद विकास समितिको आयोजनामा सञ्चालन गरिएको कार्यक्रम कार्तिक २९ गतेदेखि सुरु भएको थियो । प्रतियोगीतामा प्रथम हुनेले ६६ हजार ६ सय ६६, दोस्रो हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँ साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने सेमिफाइनलिष्ट दुवै टिमले १५ हजार ५ सय ५५ रुपैयाँ साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक महेश तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल आजै सञ्चालन हुनेछ ।
यस्तै पाँचखपन नगरपालिका वडा नं. ४ लिङलिङमा आज साँझ राष्टिय कलाकार प्रिति आलेले प्रस्तुति दिने भएका छन् । बाला चतुर्दशीको अवसरमा दोस्रो वडा अध्यक्ष कप वडा स्तरीय खुल्ला पुरुष भलिबल संगै आयोजना गरिएको सांगितिक कार्यक्रममा गायिका प्रिति आले आउने भएको वडा अध्यक्ष तथा बजार व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर तामाङले बताउनु भयो । गायिका आलेको साथमा बिराट तामाङ, मेरिना राई, रबिन श्रेष्ठ र सेजल डान्स सेन्टरको प्रस्तुति रहनेछ ।











