काठमाण्डाै । बारा र पर्साको हैजा प्रभावित क्षेत्रका झन्डै ९० प्रतिशत मानिसले हैजाविरुद्धको खोप लिएका छन् । दुई चरणमा सम्पन्न भएको खोप अभियानमा बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनाले खोप लिएका छन् ।
डाक्टर गौतमका अनुसार हैजाको महामारीविरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत खोप लगाइएको हो । बारा र पर्सामा पहिलो चरणमा असोज २६ देखि कात्तिक २ र दोस्रो चरणमा कात्तिक १३ देखि कात्तिक २७ गतेसम्म एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।
शाखा प्रमुख डा. गौतमले बारा र पर्सामा लगाइएको हैजाविरुद्धको खोप अहिलेसम्मकै सबैभन्दा धेरै ‘कभरेज’ रहेको बताउनुभयो । यसअघिका अभियानहरूमा ७० देखि ८० प्रतिशतलाई लगाइने गरेकोमा यस पटक घरघर गएर खोप लगाएकाले ९० प्रतिशत पुगेको हो ।
गएको भदौमा बारा र पर्सामा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागले बाराका ६ र पर्साका १४ पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।











