सन् २०२४ मा हरेक १० मिनेटमा एक महिलाको नजिकको व्यक्तिबाट हत्या : राष्ट्रसङ्घ प्रतिवेदन

गएको वर्ष सन् २०२४ मा हरेक १० मिनेटमा एक महिलाको नजिकको व्यक्तिबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । सन् २०२४ मा विश्वका कुनै न कुनै ठाउँमा १० मिनेटमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रसङ्घको ‘फेमिसाइड’ अर्थात् नारीहत्याविरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको टिप्पणी गरेको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय लागूऔषध तथा अपराध कार्यालय (यूएनओडिसी) र संयुक्त राष्ट्र महिला (यूएन वुमेन) ले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा झन्डै ५० हजार महिला तथा बालिकाहरू आफ्ना घनिष्ठ साझेदार वा परिवारका सदस्यकै हातबाट मारिनु परेको थियो ।

प्रतिवेदनले विश्वभर हत्या गरिएका महिलामध्ये झन्डै ६० प्रतिशतको आफ्नै साथी वा अत्यन्तै नजिकका आफन्त—जस्तै बुबा, काका, आमा, दाइ–भाइ—द्वारा हत्या भएको उल्लेख गरेको छ । तुलनात्मक रूपमा पुरुष हत्या पीडितमध्ये मात्र ११ प्रतिशतको हत्या नजिकका व्यक्तिले गरेका थिए ।

११७ देशबाट सङ्कलित तथ्याङ्कका आधारमा तयार गरिएको प्रतिवेदन अनुसार दैनिक झन्डै १३७ महिला अर्थात् प्रत्येक १० मिनेटमा एक जना महिलाको हत्या भइरहेको छ ।

सन् २०२३ मा सार्वजनिक भएको तथ्याङ्कभन्दा सङ्ख्या केही कम देखिए पनि यो वास्तविक सुधारलाई जनाउने सङ्केत नभएको, बरु फरक–फरक देशबाट उपलब्ध हुने तथ्याङ्कमा देखिने असमानता नै यसको मुख्य कारण भएको प्रतिवेदनले स्पष्ट पारेको छ ।

प्रतिवेदनले ‘घर नै महिला तथा बालिकाका लागि सबैभन्दा खतरनाक स्थान’ बनेको भन्दै प्रत्येक वर्ष १०औं हजार महिलाको हत्या हुँदै आए पनि घट्दो प्रवृत्ति नदेखिएको जनाएको छ । गएको वर्ष अफ्रिकामा सबैभन्दा धेरै झन्डै २२ हजार महिलाको हत्या भएको प्रतिवेदनले देखाउँछ ।

संयुक्त राष्ट्र महिला नीति डिभिजनकी निर्देशक सारा हेन्ड्रिक्सका अनुसार प्राविधिक विकाससँगै महिलामाथि हुने हिंसाका केही प्रकार झनै बढेका छन् भने नयाँ प्रकारका डिजिटल अपराध—जस्तै गैरसहमति तस्वीर साझेदारी, डक्सिङ (व्यक्तिगत विवरण सार्वजनिक गर्ने कृत्य) तथा डीपफेक भिडियो—जस्ता खतरनाक रूपहरू समेत जन्मिएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search