एनपीएलमा आज काठमाण्डु र पोखरा तथा सुदूरपश्चिम र चितवन खेल्दै

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे काठमाण्डु गोर्खाज र पोखरा एभेञ्जर्स खेल्दैछन् ।

लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाण्डुले जिते ‘प्ले अफ’मा पुग्नेछ । काठमाण्डु ६ खेलमा ४ जीत र ३ हारसहित ८ अङ्क जोड्दै तालिकाको दोश्रो स्थानमा छ ।

पोखराको पनि ‘प्ले अफ’मा पुग्ने सम्भावना कायमै छ । पोखराको अन्तिम खेल चितवन राइनोजसँग छ । आज काठमाण्डुलाई र आफ्नो अन्तिम खेलमा चितवनलाई हराए मात्रै पोखराको ‘प्ले अफ’मा पुग्ने सम्भावना रहन्छ । पोखरा ५ खेलमा २ जीत र ३ हारसहित ४ अङ्क जोड्दै चौथो स्थानमा छ ।

यस्तै आजै हुने अर्को खेलमा दिउँसो सुदूरपश्चिम रोयल्स् र चितवन राइनोज खेल्दैछन् । सुदूरपश्चिम यसअघि नै लगातार ५ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्ले अफ’ पुग्ने पहिलो टोली बनिसकेको छ । अपराजित सुदूरपश्चिमको १० अङ्क छ ।

चितवनको ‘प्ले अफ’ पुग्ने सम्भावना कायमै छ । आज सुदूरपश्चिमलाई र आफ्नो अन्तिम खेलमा पोखरालाई हराए मात्रै चितवनको ‘प्ले अफ’मा पुग्ने सम्भावना रहन्छ । चितवन ५ खेलमा २ जीत र तीन हारसहित ४ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

हिजो भएको खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ५ विकेटले हराउँदै ‘प्ले अफ’को सम्भावना कायमै राखेको छ । लुम्बिनी ६ खेलमा ३ खेल जित्दै ६ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ४ खेल जित्दै ८ अङ्कसहित तेश्रो स्थानमा छ । विराटनगरको पनि ‘प्ले अफ’ पुग्ने सम्भावना कायमै छ ।

कर्णाली याक्स ६ खेलमा र साविक विजेता जनकपुर बोल्ट्स ५ खेलमा समान २ अङ्कसहित पुछारमा छन् । तालिकाको सातौं र आठौं स्थानमा रहेका कर्णाली र जनकपुर ‘प्ले अफ’को समीकरणमा बाहिरिसकेका छन् ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search