काठमाण्डाै । काठमाण्डौ उपत्यकासहितका देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको छ । विश्वभरको वायु प्रदूषणको अनुगमन गर्दै आएको संस्था आईक्यू एअरका अनुसार काठमाण्डौमा वायु प्रदूषण मापन सूचक एक्यूआई १ सय ७० भन्दा माथि छ । काठमाण्डौ विश्वका वायु प्रदूषित १० शहरमध्येमा परेको छ ।
वातावरण विभागकाे अनुगमन प्रणालीअनुसार काठमाण्डौको रत्नपार्कमा एक्यूआई १ सय ६८ रहेको छ । यस्तै सुर्खेतमा १ सय ७१, दाङको देउखुरीमा १ सय ७४ र इलाममा १ सय ५७ पुगेको छ ।
विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई ४० भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ । १०१ देखि १५० सम्मलाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
नेपालमा सधैँ हिउँद महिनाहरूमा वायु प्रदूषणको जोखिम बढ्छ । पानी कम पर्ने, वायुमण्डलमा हावाका विभिन्न तहको प्रसार कम भएर प्रदूषित हावा चलायमान नभइ ठप्प भइराख्ने, आगो बाल्ने गतिविधि आदिका कारण हिउँदमा बढी प्रदूषण हुन्छ ।
विभिन्न अध्ययनहरूका अनुसार नेपालमा हरेक वर्ष वायु प्रदूषणका कारण ३७ हजारभन्दा धेरैको ज्यान जान्छ । वायु प्रदूषणले मुटु र फोक्सोका बिरामी, बालबालिका, वृद्धि तथा श्वासप्रश्वासका रोगीलाई थप प्रभावित पार्छ ।











