चैनपुरमा अमेरिकी चिकित्सकको सेवा: ६ सय ६० जनाको निःशुल्क उपचार, अब खाँदबारी र तुम्लिङटारमा शिविर हुने

संखुवासभा । ​संखुवासभाको चैनपुर नगरपालिकामा दुई दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । माघ ८ र ९ गते सञ्चालित उक्त शिविरबाट दुर्गम क्षेत्रका ६ सय ६० जना स्थानीय बासिन्दाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन्। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गरिब, असक्त र लक्षित वर्गलाई घरदैलोमै विशेषज्ञ सेवा पुर्‍याउने उद्देश्यले आयोजित यस शिविरमा उपचारका लागि पुर्जा काट्नेको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसअघि मकालु गाउँपालिकामा समेत यस्तै स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भइसकेको छ ।​ हेल्पिङ ह्यान्ड्सका संस्थापकद्वय नारायण श्रेष्ठ र सृजना श्रेष्ठको विशेष पहल तथा अनुरोधमा अमेरिकाबाट आएका १४ जना विशेषज्ञ चिकित्सकसहितको टोलीले बिरामीहरूको विस्तृत स्वास्थ्य परीक्षण गरेको थियो । टोलीमा कन्सल्टेन्ट जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन फिजिसियन विशेषज्ञ डा. अभिलाशा नगरकोटी, जनरल फिजिसियन डा. श्रीजन कटुवाल, नेत्र रोग विशेषज्ञ डा. जितेन्द्र चौधरी, दन्त रोग विशेषज्ञ विद्या उदास र अन्य दक्ष स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

शिविरमा जनरल फिजिसियन, हाडजोर्नी, नाक, कान, घाँटी, बालरोग, स्त्रीरोग र मुटुरोग सम्बन्धी विशेषज्ञ परामर्शका साथै ईसीजी सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण, निःशुल्क औषधि र रिडिङ्ग ग्लास समेत उपलब्ध गराइएको थियो।

​आफ्नै गाउँघरमा विदेशी र स्वदेशी विशेषज्ञ डाक्टरहरूबाट गुणस्तरीय सेवा पाउँदा स्थानीय बासिन्दाहरूले निकै हर्ष प्रकट गरेका थिए। शिविरको अवलोकनका क्रममा चैनपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख पोषराज श्रेष्ठले हेल्पिङ ह्यान्ड्सका प्रमुख नारायण श्रेष्ठको निःस्वार्थ समाजसेवाको उच्च कदर गर्नुभयो। उहाँले यस्ता मानवीय कार्यमा स्थानीय सरकारले सदैव ‘हातमा हात र साथमा साथ’ दिनु पर्नेमा जोड दिँदै चिकित्सक टोलीप्रति विशेष आभार व्यक्त गर्नुभयो ।

​यस शिविरलाई सफल पार्न फ्री मेडिकल क्याम्प, प्रोजेक्ट सि.यु.आर.ई.  हेल्पिङ ह्यान्ड्स चैनपुर र मनकामना हस्पिटल तुम्लिङटारले प्राविधिक तथा व्यवस्थापकीय सहजीकरण गरेका थिए। संखुवासभाका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने अभियान अन्तर्गत मकालु र चैनपुरको कार्यक्रम सम्पन्न भएपश्चात् अब यो टोलीले तुम्लिङटारस्थित मनकामना हस्पिटल र खाँदबारी बजारमा समेत स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।

हेल्पिङ ह्यान्ड्सका संस्थापक नारायण श्रेष्ठ र सृजना श्रेष्ठले उपचारको अभावमा कष्टकर जीवन बिताइरहेका असक्त नागरिकको सेवा गर्नु नै संस्थाको मूल मर्म रहेको बताउनुभयो। उहाँहरूले आगामी दिनमा पनि संखुवासभाका अन्य विकट क्षेत्रहरूमा यस्तै स्वास्थ्य सेवा विस्तार गर्ने र लक्षित वर्गसम्म विशेषज्ञ उपचार पुर्‍याउने प्रतिबद्धता समेत जनाउनुभएको छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search