केही जिल्लामा निर्वाचन प्रहरीको माग सङ्ख्याअनुसार भर्ना कम : दरखास्तको समय थप

काठमाण्डौ । केही जिल्लामा निर्वाचन प्रहरीको मागसङ्ख्या अनुसार आवेदन नपरेपछि भर्ना पनि कमी भएको छ । आवेदन नै कम परेको अनि अस्ति र हिजो आवेदकसँग लिइएको परीक्षामा कपिपय उत्तीर्ण नभएपछि कतै–कतै फेरि दरखास्तका लागि समय थप गरिएको छ ।

आज र भोलि दरखास्त दिन सक्ने गरी म्याद थप गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाग्लुङ, काभ्रे, सिन्धुपाल्चोक, धनकुटा, रामेछापलगायतका जिल्लामा मागभन्दा कम निर्वाचन प्रहरी उत्तीर्ण भएका छन् । आउँदो फागुन २१ को चुनावका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना गरी उनीहरुलाई तालिम दिने तयारी छ ।

रामेछापमा ४ सय ३३ जना अपुग भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले तेस्रो पटक म्यादसहित आवेदन माग गरेको जनाएको छ । १ हजार ३ सय ३३ जनाको लागि दरखास्त आह्वान गरेकोमा दुई पटक म्याद थप गर्दा जम्मा ९ सय जनाले मात्रै आवेदन पेश गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो ।

यस्तै बाग्लुङमा तीन पटक म्याद थप गर्दा पनि आवश्यक सङ्ख्यामा आवेदन आउन सकेको छैन । बाग्लुङमा १ हजार २ सय ९८ जना नेपाल प्रहरीतर्फ माग गरिएको थियो । तर १ हजार ४८ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

मागअनुसारको आवेदन नआएपछि तेस्रो पटक भोलिसम्मलाई आवेदन दिन म्याद थप गरेको उहाँले बताउनुभयो । नेपाल प्रहरीतर्फ झन्डै १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । छनोट भएकालाई यही माघ १५ देखि तालिम दिने तयारी छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search