काठमाण्डाै । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि सबै मुख्य दलहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन् । नेपालको संसदीय अभ्यासमा सामान्यतया चुनावपछि चयन हुने संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने भए पनि यस पटक दलहरूले चुनावअघि नै उम्मेदवार घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । कांग्रेसले २०५६ सालको चुनावमा कृष्णप्रसाद भट्टराईलाई उम्मेदवार घोषणा गरेपछि झन्डै तीन दशकपछि यस्तो निर्णय गरेको हो । नेकपा एमालेले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ ।
भर्खरै उदाउँदै गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्नुभएको छ ।
उपप्राध्यापक जगत् नेपाल चुनावअघि नै उम्मेदवार घोषणा गर्दा मतदातालाई मनोवैज्ञानिक प्रभाव पर्न सक्ने भए पनि उम्मेदवारले चौतर्फी घेराबन्दीको सामना गर्नुपर्ने चुनौती रहने बताउनुहुन्छ । यस पटक रास्वपाले बालेन्द्र शाहलाई उम्मेदवार घोषणा गरेपछि पुराना दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेरै चुनावमा गएका हुन् ।











