काठमाण्डौ । आउँदो फागुन २१ गते हुने चुनावको लागि नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले योे निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो देशका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको थियो ।
समन्वय बैठकमा सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमाक्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थी र आप्रवासीहरूको गतिविधिमाथि निगरानी राख्ने, विभिन्न तह बनाई नियमित जाँच गर्न दुवै पक्षबीच सहमति भएको छ ।
बैठकमा आपराधिक तत्वहरूबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमाक्षेत्रमा जाँडरक्सी विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्नेलगायत विषयहरूमा समेत छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।











