खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारीमा अत्याधुनिक प्रविधिसहितको ‘जिएसएफ (GSF) सिनेमा’ सञ्चालनमा आएको छ । बुद्ध चोकमा स्थापित यो हल शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएसँगै जिल्लाको चलचित्र क्षेत्रमा नयाँ युगको सुरुवात भएको छ ।
कुनै समय बाँसको टाटी र बोराले बेरिएका हलमा फिल्म हेर्नुपर्ने खाँदबारीबासीका लागि यो हलले आधुनिक प्रोजेक्शन, गुणस्तरीय ध्वनि र आरामदायी बसाइको सुविधा ल्याएको छ । अब नयाँ नेपाली तथा विदेशी चलचित्र हेर्न धरान-विराटनगर धाउनुपर्ने बाध्यता हटेको भन्दै स्थानीय चलचित्र प्रेमीहरू उत्साहित छन् ।
सिनेमा हल सञ्चालनले खाँदबारीको व्यापार, होटल व्यवसाय र आन्तरिक पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसलाई संखुवासभामा मनोरञ्जन उद्योगको विकास र आधुनिक पूर्वाधारको विस्तारका रूपमा हेरिएको छ ।











