काठमाण्डौ । देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्य बदली हुनेछ भने ती प्रदेशका बाँकी ठाउँमा र अन्य प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ । मधेश प्रदेशलगायत तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु लागेको छ । राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुनेछ भने अन्य प्रदेशमा मुख्यतया मौसम सफा रहनेछ । तराईका केही ठाउँमा तुवाँलो लाग्नेछ । महाशाखाले हुस्सु, तुवाँलो तथा हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा यातायात क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभर अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।











