काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ । त्यसको अघिल्लो दिन २१ गते प्रतिनिधिसभाको चुनाव हुँदैछ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन परेको थियो । ती रिट निवेदनको सुनुवाइका लागि मिति तय भएको छैन । अदालतले साधारण तारिख मात्रै तोकेको हो ।
संसद् विघटनविरुद्ध परेको रिट निवेदनमा गएको कात्तिक १२ गते संवैधानिक इजलाससमा सुनुवाइ गरी बाटोको म्यादबाहेक ७ दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । विपक्षीहरूबाट लिखित जवाफ अदालतमा पेश भइसकेको छ ।
त्यसैगरी, सर्वोच्च अदालतको गएको पुस ९ गते बसेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन, सरकार निर्माण प्रक्रिया र संसद् पुनःस्थापनाको मागसम्बन्धीका पूरक रिट निवेदनलाई पनि एकैसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो ।
अहिलेसम्म यी रिटमा प्रारम्भिक सुनुवाई मात्रै भएको छ । फागुन २१ को चुनावपछि यी रिटहरुको औचित्य सकिनेछ ।











