अङ्ग्रेजी पत्रिका वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा थप १० हजार सेना पठाउने विचार गरिरहनुभएको छ । रिपोर्टअनुसार सम्भावित तैनाथीको उद्देश्य थप सैन्य विकल्पहरू सिर्जना गर्नु हो । ट्रम्पले इरानसँग शान्ति वार्ता गर्ने बारेमा विचार गरिरहेका बेला यो रिपोर्ट सार्वजनिक भएको हो ।
थप फौजमा पैदल सैनिकका साथै बख्तरबन्द गाडीहरू पनि समावेश हुने सम्भावना छ । यो नयाँ फौजले पहिले नै त्यस क्षेत्रमा तैनाथ ५ हजार म्यारिन र ८२औँ एअरबोर्न डिभिजनका हजारौँ प्याराट्रुपरसँग मिलेर काम गर्नेछ ।
मध्यपूर्वमा यी फौज कहाँ पठाइने भन्ने विषय अझै स्पष्ट छैन, तर उनीहरू इरान र खार्ग द्वीप नजिकको क्षेत्रमा परिचालन हुने सम्भावना छ । खार्ग द्वीप इरानको तेल निर्यातको महत्त्वपूर्ण केन्द्र मानिन्छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी ऊर्जा संयन्त्रमाथि योजना बनाइएका आक्रमणहरू १० दिनका लागि स्थगित गर्ने बताउनुभएको थियो । उहाँले अमेरिका र इरानबीचको वार्ता ‘अत्यन्तै सकारात्मक रूपमा अघि बढिरहेको’ पनि दाबी गर्नुभएको छ । इरानले भने अमेरिकाको १५ बुँदे शान्ति योजना अस्वीकार गरेको छ ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव छ । युद्धका कारण विश्वव्यापी तेल ढुवानीमा अवरोध पुगेको छ ।










