काठमाण्डाै । अनलाइन सट्टेबाजीसँग सम्बन्धित ७ हजारभन्दा धेरै एप्लिकेशन र वेबसाइट बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी १०० वटा निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा यो कदम चालेको हो ।
प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेकाअनुसार अवैधरूपमा सञ्चालित सट्टेबाजी एप तथा वेबसाइट पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो ।
पछिल्लो १ हप्तामा प्राधिकरणलाई विभिन्न माध्यमबाट ५० वटाभन्दा धेरै गुनासा प्राप्त भएका थिए । मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत १०० शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर ४२ अनुसार सट्टेबाजी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने निर्णय भएको थियो ।
सरकारले यस्ता एप तथा वेबसाइट प्रयोग वा सञ्चालन नगर्न आग्रह गर्दै अनधिकृतरूपमा प्रयोग गरेमा कडा कारबाही हुने चेतावनी दिएको छ । साथै शङ्कास्पद एप वा वेबसाइटबारे सम्बन्धित निकायमा सूचित गर्न सरकारको अनुरोध छ ।











