काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी प्रदेश पूर्वसांसद रेखा शर्मालाई हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न आदेश दिएको छ । शर्मालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै अदालतले थुनामुक्त गर्न आदेश दिएको हो ।
शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको आरोप लागेको थियो । अदालतको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय, पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरिसकेको तथ्यलाई मुख्य आधार मानिएको छ ।
प्रमाणको अभावमा मुद्दा नचलाउने सरकारी वकिलको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले समेत समर्थन गरिसकेको अवस्थामा प्रतिवादीलाई थुनामा राख्न आवश्यक नभएको अदालतको ठहर छ ।











