काठमाण्डाै । हिजो १०५ अङ्कले घटेको शेयर बजार आज ८३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८३ दशमलव ३३ अङ्कले बढेर २ हजार ७६० दशमलव ०२ विन्दुमा पुगेको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार शेयर बजारप्रति उदार रहेको बताएपछि बजारमा सकारात्मक प्रभाव परेको हो । अर्थमन्त्री वाग्लले आज स्टक ब्रोकर एशोसिएसन लगायतसँग शेयर बजारको बारेमा छलफल गर्नुभएको थियो ।
आज सबै समूहको सूचक बढेकोमा फाइनान्स र जलविद्युत् समूहको सूचक ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी समूहको उपसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज २६४ वटा कम्पनीको शेयर बढेकोमा ३ वटाको घटेको छ । यस्तै सृजनशील लघुवित्तको शेयर भने घटबढ भएको छैन । आज उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर, नेपाल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इनको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लक्ष्मी बैंकको डिबेन्चर २०८८ सबैभन्दा धेरै ३ दशमलव १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १२ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३४५ वटा कम्पनीका २ करोड ५१ लाख कित्ता शेयर १० अर्ब ९२ करोड रुपैयाँमा किनबेच भएको छ ।











