इरान र अमेरिकाले ४५ दिने युद्धविराम र ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग पुनः खोल्ने प्रस्ताव प्राप्त गरेका छन् । इरान र अमेरिकाबीच युद्ध तीव्र बन्दै गएका बेला इजिप्ट, पाकिस्तान र टर्किएका मध्यस्थकर्ताहरूले तयार पारेको मस्यौदा प्रस्ताव दुवै पक्षलाई पठाइएको मध्यपूर्वका दुई जना अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
यो प्रस्तावले मध्यपूर्वमा चलिरहेको इजराल–अमेरिका र इरानबीचको द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने सम्भावना देखाएको छ । यद्दपि दुवै पक्षबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।
यो प्रस्तावले ४५ दिनको समयावधिमा विस्तृत वार्ता गरी स्थायी युद्धविराममा पुग्ने वातावरण तयार गर्ने लक्ष्य राखेको छ । यो प्रस्ताव इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकफलाई पठाइएको खबरमा उल्लेख छ । यद्यपि दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमति हुने/नहुने अझै अनिश्चित देखिएको छ ।
इरानले आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने ग्यारेन्टीविना युद्ध रोक्न अस्वीकार गर्दै आएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो समयसीमाभित्र हर्मुज जलमार्ग पुनः नखोले कडा पूर्वाधार आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।











