काठमाण्डाै । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६१ अङ्कले घटेर २ हजार ७५७ दशमलव ४० विन्दुमा झरेको छ ।
आज बैंक, होटल तथा पर्यटन, जलविद्युत् र अन्य बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक १ दशमलव ८८ प्रतिशतले ओरालो लागेको छ ।
आज १७५ वटा कम्पनीकाे शेयर घटेकाेमा ८२ वटाकाे बढेकाे छ । यस्तै १२ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन । आज नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईबीएल) ग्रोथ फन्डको शेयर सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेत गङ्गा हाइड्रोपावर एन्ड कन्सट्रक्शन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इनको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ९२ करोडको कारोबार भएकोमा आज ३४५ वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ६ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।











