जिल्लाका क्रियाशील पत्रपत्रिका, अनलाइन तथा एफएमहरूले सरकारी विज्ञापनसम्बन्धी बुझाए ध्यानाकर्षण पत्र

संखुवासभा । संखुवासभा जिल्लामा क्रियाशील २३ वटा पत्रपत्रिका, अनलाइन तथा एफएम रेडियोहरूले सरकारी विज्ञापनसम्बन्धी नयाँ निर्णयविरुद्ध कडा असन्तुष्टि जनाउँदै बुधबार प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ले मिति २०८२ चैत १८ गते जारी गरेको परिपत्रमार्फत “सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्ने” निर्णय गरेपछि जिल्लाका सञ्चार संस्थाहरू एकजुट भएर विरोधमा उत्रिएका हुन्।

स्थानीय सञ्चारकर्मीहरूले उक्त निर्णयले निजी तथा स्थानीय सञ्चार माध्यमहरूलाई योजनाबद्ध रूपमा पाखा लगाउने, आर्थिक रूपमा कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने बताएका छन्।

ध्यानाकर्षण पत्रमा, यस्तो नीति लोकतान्त्रिक मूल्यमान्यता विपरीत मात्र होइन, प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेपसमेत हो भनिएको छ ।

ध्यानाकर्षण पत्रमा उल्लेख गरिएअनुसार, संखुवासभामा सञ्चालनमा रहेका सञ्चार माध्यमहरूले राज्यका सूचना नागरिकसम्म पुर्‍याउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। तर नयाँ निर्णयले तिनको अस्तित्व नै संकटमा पार्ने संकेत दिएको भन्दै सञ्चारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।

सञ्चार संस्थाहरूले यस्तो “विभेदकारी र अलोकतान्त्रिक” निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै तत्काल खारेज नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।

प्रमुख जिल्ला अधिकारी सगै उनीहरुले नेपाल पत्रकार महासंघ संखुवासभालाई पनि ध्यानाकर्षणपत्र बुझाएका छन् । यसैवीच नेपाल पत्रकार महासंघ संखुवासभाले पनि स्थानीय सञ्चार माध्यामको समर्थन गर्दै बुधबार प्रजिअ मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search