काठमाण्डौ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज चुनाव हुँदैछ । संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया अघि बढ्ने कार्यसूची छ । उपसभामुखको लागि राप्रपाको तर्फबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट रुबी कुमारी ठाकुरको उम्मेदवारी परेको छ ।
२६ वर्षीया रुबीलाई सत्तारुढ रास्वपासहित कांग्रेस, एमाले र नेकपाको पनि समर्थन रहेका कारण उहाँ निर्वाचित हुने पक्का भएको छ । यसअघि निर्णायक रास्वपासँग श्रम संस्कृति र राप्रपाले उपसभामुखमा सघाउन आग्रह गरेका थिए।
रास्वपाले सघाउने वचन पाएपछि राप्रपाले उम्मेदवारी दिएको हो । तर अन्तिममा रास्वपाले श्रम संस्कृतिकी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । रुबी निर्वाचित भएसँगै नेपाली संसद्ले इतिहासकै कान्छी उपसभामुख पाउने भएको छ ।
सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सभामुखमा रास्वपाका डिपी अर्याल यसअघि नै निर्विरोध निर्वाचित भैसक्नुभएको छ ।











