समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिनको समय सीमा दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै हिजो मन्त्रालयले त्यस्ता सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी, जमानीका नाममा १५ दिने सूचना निकालेको हो ।

ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलाम गर्ने चेतावनी दिएको छ । पटक–पटक जानकारी गराउँदा पनि अहिलेसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा १५ दिनभित्र सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउन भनिएको छ ।

साथै १५ दिनभित्र ऋण फरफारक नगरे ऋणी, उसको परिवार र जमानीको नामसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने सूचनामा उल्लेख छ ।

ऋण असुलीसँगै बचत फिर्तालाई अगाडि बढाउने मन्त्रालयको तयारी छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search