चैतमा विपद्का घटनामा ३० जनाकाे ज्यान गयाे

काठमाण्डाै । गएको चैतमा देशभर भएका विपद्का घटनामा परेर ३० जनाको ज्यान गएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत विपत्तिमा परेर १६ पुरुष, १० महिला र ४ बालबालिकाको ज्यान गएको हो । विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । यस्तै १ सय ९१ घर, ११७ गोठ र ३ सरकारी कार्यालयमा क्षति भएको तथा ५२९ पशुचौपाया मरेका प्रहरीले जनाएको छ ।

विपद्का कारण ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिनुभयो । विपद्का कारण १४३ जना विस्थापित भएका छन् ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको बताएको छ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजकाे बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले स्रोतको अभाव रहेको जानकारी गराउनुभएको हो ।

भट्टका अनुसार मनसुनजन्य विपद् व्यवस्थापनका लागि हेलिकप्टर, डुङ्गा, ड्रोनलगायत अभाव रहेको छ । स्रोत साधनको अभाव भएकाले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइएको उहाँको भनाइ छ ।

प्राधिकरणले विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि पालिकालाई ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सफाइको काम गर्न पनि पत्रचार गरेको जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search