काठमाण्डौ । एसियाको जीवन रेखा मानिने हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रामा कमी आउने क्रम रोकिएको छैन । हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको देखिएको छ । यसले गएको वर्षको न्यूनतम कीर्तिमान तोड्दै लगातार चौथो वर्ष औसतभन्दा कम हिम स्थायित्व देखाएको छ ।
यो तथ्य नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको पछिल्लो ‘स्नो अपडेट–२०२६’ प्रतिवेदनमा उल्लेख छ ।
निरन्तरको हिम सञ्चिति गिरावटले विश्वकै उच्च हिमाली क्षेत्रमा मौसमी हिम सञ्चिति प्रणालीगत रूपमा कमजोर हुँदै गएको सङ्केत गर्छ । जसबाट त्यस क्षेत्रमा उत्पन्न हुने १२ प्रमुख नदी बेसिनमा निर्भर झण्डै दुई अर्ब नागरिकको जल सुरक्षामा तत्काल र बढ्दो खतरा निम्त्याएको छ । तीमध्ये १० बेसिनमा अहिले औसतभन्दा कम हिम स्थायित्व रहेको छ । मेकङ, टारिम र तिब्बती पठारमा २४ वर्षको निगरानी अवधिमै सबैभन्दा न्यून स्तर रेकर्ड गरिएको छ ।
‘स्नो अपडेट–२०२६’का लेखक शेर मुहम्मदले यो तथ्याङ्कले १२ मध्ये १० बेसिन सामान्यभन्दा तल छन् र केहीले दुई दशककै न्यूनतम स्तर छोएका बताउनुभयो । हेलमण्ड बेसिनमा वार्षिक बहावको ७७.५ प्रतिशत र आमु दर्यामा ७४.४ प्रतिशत हिउँ पग्लनबाट प्राप्त हुने भएकाले यस वर्षको हिम कमीले पिउने पानी, सिँचाइ, जलविद्युत् र पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर पार्ने प्रतिवेदनमा उल्लेख छ । यसले विशेष गरी पानी आपूर्ति र बाढी व्यवस्थापनमा चिन्ता बढाएको छ । घट्दो हिउँ पग्लनले वसन्तकालीन बहाव घटाउनेछ र तल्लो तटीय क्षेत्रमा पानी अभाव झन् तीव्र बनाउनेछ ।
इण्डस, हेलमण्ड र आमु दर्या नदी बेसिनका किसानले बाली रोप्ने प्रारम्भिक मौसममै सिँचाइ अभावको सामना गर्नेछन् । मेकङ, याङेत्से (जहाँ थ्रि गर्जेज ड्याम सञ्चालनमा छ) र ब्रह्रपुत्र क्षेत्रमा जलविद्युत उत्पादन पनि प्रारम्भिक गर्मी याममा सामान्यभन्दा कम हुने अपेक्षा गरिएको छ । यो सङ्कटलाई अझ गम्भीर बनाउँदै, लगातार कम हिमपात भएका वर्षहरूले भू–जल र माटोको आर्द्रता पुनः भरण हुन नदिएकाले भविष्यमा खडेरीको जोखिम बढेको छ ।
प्रतिवेदनका अनुसार केबल दुई नदी बेसिनमा मात्र औसतभन्दा बढी हिम स्थायित्व देखिएको छ । गङ्गा बेसिनमा १६.३ प्रतिशत र इरावडी बेसिनमा २१.८ प्रतिशत बढी हिम स्थायित्व देखिएको छ, यद्यपि यसले स्थानीय रूपमा केही राहत दिए पनि क्षेत्रीय सङ्कटलाई सन्तुलन गर्न पर्याप्त छैन । यस विपरीत मेकङमा ५९.५ प्रतिशत, तिब्बती पठारमा ४७.४ प्रतिशत र सालविनमा ४१.८ प्रतिशत हिम स्थायित्वको कमी देखिएको छ ।
इसिमोडले राष्ट्रिय तथा स्थानीय निकायलाई तत्काल खडेरी तयारी तथा प्रतिक्रिया योजना सक्रिय गर्न, वास्तविक समय हिम तथ्याङ्कलाई जल व्यवस्थापनमा समावेश गर्न, पानी सञ्चय र दक्षता उपायमा लगानी बढाउन तथा अन्तर्देशीय जल सहकार्य सुदृढ गर्न आग्रह गरेको छ ।











