बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा

काठमाण्डौ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शय्याको ठाकुरबाबा आधारभूत नगर अस्पताल सञ्चालनमा आएको छ । सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’ निर्माण गर्ने लक्ष्य अनुसार झन्डै ५ वर्षपछि ठाकुरबाबा नगरपालिकाको नेउलापुर भवन निर्माण कार्य सकेपछि आधारभूत नगर अस्पताल हिजोदेखि सञ्चालनमा आएको हो ।

अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मेयर तिलकराम लम्सालले नगरबासीलाई घर आँगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले २४सैँ घण्टा आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

आधारभूत नगर अस्पताल निर्माणका लागि स्थानीय बासिन्दाको सक्रियतामा झण्डै २ बिगाहा जग्गा व्यवस्थापन गरिएको थियो । जग्गाको व्यवस्थापन भएपछि सरकारले नगर अस्पतालका लागि स्वीकृति प्रदान गरेको थियो । अस्पतालको भवन निर्माणका लागि नेपाल सरकारले १८ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा १२ करोड २४ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएकोमा केही अपुग रकम थप गरी १२ करोड ८४ लाख लागतमा भवन निर्माण कार्य सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।

ठाकुरबाबा आधारभूत नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी योगी (भावुक) ले अस्पताललाई सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा जोड दिइएको बताउनुभयो । बर्दिया जिल्लामै पहिलो पटक स्वास्थ्य बीमा गरेका बिरामीलाई औषधि वितरण गर्ने पालिकाका रूपमा ठाकुरबाबाले पहिचान बनाएको छ ।

अहिले अस्पतालबाट तीन जना एमबीबीएस डाक्टरसहित ४७ जनाको जनशक्तिबाट सम्पूर्ण आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध भइरहेको समितिका अध्यक्ष योगीले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष योगीका अनुसार, निकट भविष्यमै दन्त सेवा र आँखा सेवा समेत थप गर्ने योजना छ । यी सेवाहरू थपिएपछि सरकारले तोकेको आधारभूत अस्पतालको पूर्ण मापदण्ड पूरा हुने अध्यक्ष योगीले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाका बासिन्दासँगै छिमेकी पालिका बारबर्दिया र मधुवन नगरपालिका यसैगरी छिमेकी प्रदेश सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको तेलपानी क्षेत्रबाट समेत गरी दैनिक १०० देखि २५० बिरामीले उपचार सेवा लिइरहेका छन् ।

झन्डै ३ वर्ष अघि २०७७ सालमा भुरीगाउँको नेउलापुर स्वास्थ्य चौकी भवनबाट अस्थायी रूपमा सेवा शुरु भएको आधारभूत नगर अस्पतालबाट २४सैँ घण्टा आकस्मिक सेवा, सर्पदंश उपचार सेवा, रेविजविरुद्धको खोप लगायत साप्ताहिक रूपमा विशेषज्ञ सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यो आर्थिक वर्षको चैत महिनासम्म ११ हजार ६ सय ७० जना बिरामीले उपचार सेवा प्राप्त गरेका छन् । आधारभूत नगर अस्पताल सञ्चालनमा आएसँगै सामान्य उपचारका लागि पनि सदरमुकाम वा नेपालगञ्ज जानुपर्ने स्थानीय बासिन्दाको बाध्यता हटेको छ ।

४२ वटा कोठा र हलसहित ५० कोठा रहेको दुई तले नवनिर्मित भवनबाट सेवा शुभारम्भ भएपछि स्थानीय बासिन्दासँगै छिमेकी पालिकाका बासिन्दा पनि खुसी भएका छन् ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search