काठमाण्डौ । आज वैशाख १२ गते, २०७२ सालमा आजकै दिन शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भई ७ दशमलव ८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । विनाशकारी भूकम्पको ११ वर्ष बितेको छ ।
त्यस बेलाको भूकम्पले गरेको क्षतिलाई स्मरण गरी विभिन्न कार्यक्रम हुँदैछन् । भूकम्पबाट आठ हजार ९७९ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए ।
काठमाण्डौ उपत्यकासहित देशका ३२ जिल्ला प्रभावित हुँदा हजारौँ घर, ऐतिहासिक धरहरासहित थुप्रै धार्मिक तथा सांस्कृतिक सम्पदा भग्नावशेष बने ।
नेपालमा भूकम्पको जोखिम कायमै छ । सरकारले बनाएको भवन निर्माण मापदण्ड पूर्ण रूपमा लागु हुन नसक्दा अर्को ठूलो भूकम्प जाने हो भने विगतको जस्तै क्षति हुन सक्ने विज्ञहरू बताउँछन् ।
वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पबाट सिकेको पाठ आम नागरिकले व्यवहारमा प्रयोग गर्नु र बनाइएका ऐन नियम सरकारले कडाइका साथ कार्यान्वयन गर्नु आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
भूकम्प स्मृति दिवसको अवसरमा सन्देशमार्फत उहाँले नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागि रहनुपर्ने बताउनुभएको छ ।











