काठमाण्डौ । पर्साको वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र देशको अन्य भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ ।
वीरगञ्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णले सडक विस्तारबाट भूमिहीन बनेकाहरूले एक महिनाभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउन सक्ने बताउनुभयो ।
डिभिजन सडक हेटौँडाले गएको वैशाख ६ गतेदेखि वीरगञ्जको गण्डक चोकदेखि मितेरी पुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा भत्काउन थालेको हो । त्यसपछि महानगरले सूचना निकालेर सम्पर्कमा आउन भूमिहीनलाई आह्वान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावितलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत सङ्कलन प्रक्रिया शुरु गरिएको छ ।
महानगरमा प्राप्त विवरणको यथार्थ छानबिन गरी पूर्णरूपमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष सिफारिस गरिने महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयले भत्किएका घर टहरामा व्यापार नगर्न अनुरोध गरेको छ ।











