काठमाण्डौ । थापाथलीमा रहेको बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । अहिलेसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाण्डौ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका झन्डै ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो ।
‘अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोबास गरिरहेका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ’, प्रजिअ पौडेलले भन्नुभयो, ‘सुकुम्वासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।’ आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उहाँले जानकारी दिनुभयो ।
सरकारले दुईदिन अघिदेखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेका सुकुम्वासी तथा भूमिहीनलाई आफ्ना सरसामान, पशुचौपायलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्दै आएको थियो ।
थापाथली क्षेत्रमा अवैध संरचान हटाउन सुरक्षाकर्मी, प्राविधिक, डोजर अपरेटर, एम्बुलेन्स, सामग्री ओसापसार गर्ने ट्रक, उद्धार गरिएको नागरिकलाई पहिलो आश्रयस्थलसम्म लैजान कर्मचारी ओसार्न प्रयोग हुँदै आएका गाडी सञ्चालन गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
थापाथलीका सुकुम्वासीलाई त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाालामा राखिएको छ । त्यहाँ उनीहरूको विवरण सङ्कल भइरहेको छ । वास्तविक सुकुम्वासी पहिचान भएपछि उनीहरूलाई अस्थायी बसोबासका लागि व्यवस्था गरिएको ठाउँमा स्थानान्तरण गरिनेछ । अस्थायी बसोबासको प्रबन्ध शहरी विकास मन्त्रालयले गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले आज काठमाण्डौको थापाथली क्षेत्र र गैरीगाउँ सिनामङ्गल क्षेत्रका घरहटरा हटाइने जानकारी दिनुभयो । समयले भ्याएसम्म आजै मनोहरा क्षेत्रमा पनि त्यस्ता बस्ती हटाउन शुरू गरिने उहाँले बताउनुभयो ।
यसैबीच, मनोहराका सुकुम्वासी पनि घरटहरा छाडेर गएका छन् । उनीहरूलाई सुरक्षाकर्मीले आफ्ना सामग्रीलाई सुरक्षित ठाउँमा लैजान अनुरोध गरिरहेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज र भोलि काठमाण्डाै उपत्यकाका नदी किनारामा अवैध ढङ्गले बनाइएका घरटहरा हटाउन निर्देशन दिनुभएको थियो ।











