मध्यपूर्वमा चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची इस्लामाबाद आइपुग्नुभएको छ । यो भ्रमणले मध्यपूर्वमा तनाव कम गर्ने र शान्ति स्थापना गर्ने आशा जगाएको छ ।
विदेशमन्त्री अराघचीका साथमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईसहितको प्रतिनिधिमण्डल इस्लामावाद आइपुगेको हो । अराघचीले प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल जनरल असीम मुनिरसँग भेट गर्नुहुनेछ ।
पाकिस्तानले इरानी र अमेरिकी अधिकारीबीच प्रत्यक्ष भेटको पनि सम्भावना रहेको बताएको छ तर यसको पुष्टि इरानले गरेको छैन । अमेरिकी विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नर इरानी प्रतिनिधिमण्डलसँग प्रत्यक्ष वार्ताका लागि पाकिस्तान आउँदै गर्नुभएको बीबीसीले जनाएको छ ।
पाकिस्तानको अनुरोधमा युद्धाविराम अनिश्चितकालका लागि लम्ब्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसँगै पछिल्लो वार्ताको तयारी भएको हो । अमेरिकाले इरानले एकीकृत प्रस्ताव ल्याउने अपेक्षा गरेको बताएको छ ।
युद्धविराम यता होर्मुज जलमार्गको विषयलाई लिएर अमेरिका र इरानबीच द्वन्द्व बढेको छ । इरानको परमाणु क्षमता र विभिन्न प्रोक्सी समूहहरूलाई उसले गरेको भनिएको समर्थनले पनि दुरी बढाएको हो ।











