काठमाण्डौ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले एफएम रेडियो तथा सञ्चालकमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन् ।
तीन वटा संस्थाले संयुक्त अपीलमार्फत धरपकड तथा फौजदारी मुद्दाको विरोध गर्दै सङ्गीत रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरेका छन् । रेडियोहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र यस्तो अवस्थामा थप आर्थिक तथा कानुनी दबाबले नेपाली रेडियो क्षेत्र नै सङ्कटमा पर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा प्रतिलिपि अधिकार ऐन र नियमावलीको गलत व्याख्या गर्दै एफएम रेडियो सञ्चालकलाई अपराधीकरण गर्ने काम भएको उल्लेख छ । भक्तपुर एफएमका सञ्चालकमाथि गरिएको धरपकडप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले प्रतिवादीलाई सामान्य तारेखमा रिहा गरेकोप्रति स्वागत गरिएको छ ।
त्यस्तै सङ्गीत रोयल्टी सङ्कलनका नाममा धम्की, फौजदारी मुद्दा र नियोजित दबाब सिर्जना गरिनु अस्वीकार्य भएको ती संस्थाले जनाएका छन् । रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा जोड दिएका छन् ।
सङ्गीत रोयल्टी संकलन र वितरणका लागि भरपर्दो सरकारी निकाय तोक्नुपर्ने, सङ्कलित रकमको अधिकांश हिस्सा स्रष्टासम्म प्रत्यक्ष पुग्ने व्यवस्था गर्नुपर्ने तथा रोयल्टीसम्बन्धी कानुन निर्माण र संशोधन गर्दा रेडियो क्षेत्रका प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनुपर्ने पनि माग रहेको छ ।
संवाद र सहमतिका माध्यमबाट सङ्गीत रोयल्टी विवाद समाधान गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।










