काठमाण्डौ । मनसुन भित्रिनसकेको र पानी पर्नेक्रम पनि केही कम भएसँगै गर्मी फेरि बढ्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार भोलि र पर्सि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ ।
अस्ति शुक्रबारसम्म देशका विभिन्न ठाउँमा पानी परेपछि गर्मी निकै घटेको थियो । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ तथा देशका हिमाली र पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ । मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको तर नेपाल भित्रिन ढिलाइ भएको मौसमविदले बताएका छन् ।
नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रने गरेकोमा आज जुन १४ तारिख भैसकेको छ । गएको वर्ष सरदरभन्दा १५ दिन अगाडि जेठ १६ मा नै मनसुन नेपाल भित्रिएको थियो । तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भागमै बसेको थियो ।
मौसम पूर्वानुमान महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको जनाएको छ । मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको आधिकारीका घोषणा गर्ने महाशाखाको तयारी छ । नेपालमा मनसुन अवधिमा वर्षभरको झण्डै ८० प्रतिशत वर्षा हुन्छ।
मनसुन भित्रिएपछि बाहिरीने असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यसवर्ष मनसुनमा कम वर्षा र धेरै गर्मी हुन सक्ने प्रक्षेपण गरिएको छ ।











