काठमाण्डौ । नेपाली कांग्रेसमा आन्तरिक एकताका लागि संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवा तथा डा.शेखर कोइराला समूहलाई सात बुँदे प्रस्ताव पठाएको छ ।पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित थप पाँच जना नेताहरूलाई गगन थापा पक्षले पठाएको सात बुँदे प्रस्तावमा विधानको १७ (२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अद्यावधिक, सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसाथ गर्नुपर्नेलगायत उल्लेख छ ।
उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको सात बुँदे सहमतिको प्रस्ताव सार्वजनिक गर्नुभएको हो । गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको सक्रियतामा गएको पुस २७ देखि माघ १ गतेसम्म काठमाण्डौमा विशेष महाधिवेशन गरिएको थियो । यो विशेष महाधिवेशनप्रति देउवा पक्षले विमति राखेको छ ।
यसैबीच नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समय सीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यहरूले आउँदो असार २० गतेभित्रमा निवेदन दिन सक्ने जनाएको छ । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजोको बैठकले छुटेका निरन्तरतासहित अद्यावधिक गर्न चाहने क्रियाशील सदस्यहरूले असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो ।
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये यही जेठ २८ गते राति १२ बजेसम्म कुल छ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरण ‘डिजिटल’ प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ । तर पूर्व सभापति शेरबहादुर देउवासहित कतिपय शीर्ष नेताहरूले सदस्यता अद्यावधिक गर्नुभएको छैन ।
गएको पुससम्म नवीकरण गरेका सबैलाई आउँदो महाधिवेशनमा सहभागी गराउनुपर्ने देउवा–कोइराला पक्षको अडान कायमै छ । क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणलाई कांग्रेसको १५औँ महाधिवेशनको मूल कार्य तालिका प्रभावित नहुने गरी समय मिलान गरिदिन केन्द्रीय समितिमा सिफारिस गर्ने पनि समितिको निर्णय छ ।











